काठमाडौं, मंसिर १२
सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ । चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ ।
दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ । विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ ।
अब त्यो कार्ययोजना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समक्ष छलफलका लागि लगिने छ। पार्टीबाट पारित गराइ कार्यान्वयनमा लैजाने गरी तयारी भएको विभाग सदस्य हरि अधिकारीले जानकारी दिनुभयो । ‘संगठन विभागले के–के काम कसरी गर्ने भन्ने कार्ययोजना बनेको छ, अब पार्टीका दुई अध्यक्षलाई देखाएपछि उहाँहरूको अनुमतिमा विभागले सदस्य परिचालन नीति बनाउँछ’, विभागका सदस्य अधिकारीले भन्नुभयो । नेकपाका झण्डै ७ लाख संगठित सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्