जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १७:२५

सिमा विवादमा पुनः बोल्यो सरकार, थप प्रमाण खोज्न बेलायत पनि जाने


काठमाडौं, मंसिर १२

सरकारले भारतसँग प्रमाण पुगेको जमिनको मात्र दावी गरेको स्पष्ट पारेको छ । नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भन्ने स्पष्ट रहेको बताउदै त्यसमा विवाद गरिरहनुको औचित्य समेत नभएको जनाएको छ । यद्यपी यसविषयमा विवाद समाधान गर्नेबारे भारतसँग वार्ताको पहल गरिरहेको दोहो¥याएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिम्पियाधुरासम्म नेपालको भूमि भएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताउनु भयो । ‘हामीलाई अरूको भूमि एक इन्च पनि चाहिँदैन,’ उहाले भन्नुभयो, ‘हामीसँग प्रमाण छन् त्यो भूमि हाम्रो हो। पुरानो जनगणना, हाम्रा लालपूर्जा प्रमाण हुन् ।’ उहाले थप प्रमाण आवश्यक परे पनि खोजी गरिने बताउनु भयो ।

‘व्रिटेनका अभिलेखालयमा पनि सुगौली सन्धिका प्रमाण होलान् । हामी त्यो प्रमाण खोज्न सक्छौं,’ उहाको भनाई थियो । ‘तथ्य र प्रमाणको आधारमा स्थापित भएको कुरा भारतले पनि स्वीकार गर्नुपर्दछ । हाम्रो सार्वभौमसत्तालाई न्यायोचित सम्मान गर्नुपर्दछ । तथ्यको आधारमा सत्य ठहरिएको विषयमा भारतसँग स्पष्ट रुपमा कुरा राख्छ । कालापानी मात्रै होइन सुस्ताको हकमा पनि यही कुरा हो’ मन्त्री बाँस्कोटाको भनाई छ ।