जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ११:२२

प्रधानमन्त्री खतरामुक्त, साता दिन अस्पतालमै राखिने


काठमाडौं, मंसिर १३

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताउनु भएको छ । गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ ।

सेन्टरमा आज विहान आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले उहाको अवस्था खतरामुक्त रहेको बताउनु भएको हो । प्रधानमन्त्रीको निजि चिकित्सक डा. दिव्या शाहले पूर्ण रुपमा कोही पनि खतरामुक्त नहुने भन्दै तत्कालको अवस्थामा उहा खतरामुक्त रहेको जानकारी दिनुभयो । ‘अहिलेको अवस्था खतरामुक्त हो, भोली पर्सी वा पछिको अवस्था कसैले पनि केही भन्न सक्दैन’, डा. शाहले भन्नुभयो ।

प्रधानमन्त्रीलाई अहिले एपेन्डिसाइटिसको अपरेसन र मिर्गौलाबाहेक अरू समस्या नभएको डा. शाहले जानकारी दिनुभयो । ‘मिर्गौला प्रत्यारोपण गर्न यसले केही असर गर्दैन। तर हामीले अहिले नै मिर्गौला प्रत्यारोपण गर्ने वा नगर्ने, कहाँ गर्ने, कहिले गर्ने निर्णय गरिसकेका छैनौं,’ डाक्टर सिंहले भन्नुभयो ।

उहाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै पनि गर्न सकिने जानकारी भने दिनुभयो । ‘नेपालमै पनि १२ सय जनाले मिर्गौला प्रत्यारोपण गरेका छन्। प्रधानमन्त्रीको पनि यहीँ हुन सक्छ,’ डाक्टर सिंहको भनाई छ ।

उहाले प्रधानमन्त्रीले मुखबाट खाना खाइरहेको, रक्त सञ्चार सामान्य रहेको जानकारी दिनुभयो । ‘यहाँ ल्याइसकेपछि उहाँको दुई पटक डायलासिस भएको छ। रक्तश्राव नहोस् भनेर उहाँलाई प्लेटलेट्स चढाइएको हो। यो सामान्य कुरा हो,’ सिंहले भन्नुभयो ।

मंगलबार प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओली दुई सातापछि शल्यक्रियापूर्वको अवस्थामा फर्किने बताउनुभयो । ‘उहाँको एपेन्डिक्स फुटेको थियो। त्यो भनेको बेलुन फुटेजस्तो प्याट्ट फुट्ने होइन तर पेटमा संक्रमण भएको थियो,’ डाक्टर भण्डारीले भन्नुभयो,‘अहिले त्यो संक्रमण हटिसकेको छ। उहाँको घाउ निको हुन अझै साताजति लाग्छ। घाउ निको भएपछि उहाँ फर्किनुहुन्छ।’

प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा धेरै राम्रो सुधार आएको चिकित्सकहरूले जानकारी दिनुभयो । ‘उहाको रोगविरुद्ध लड्ने क्षमता देखेर हामीहरु आफै अचम्मित भएका छौं’, चिकित्सकहरुले भने, ‘हामीले सोचेकोभन्दा एकदमै राम्रो सुधार, उहाँको आत्मविश्वासले पनि होला ।’

प्रधानमन्त्री ओलीको निर्देशनपछि शल्यक्रियाको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिनु भएको छ । चिकित्सकहरुले उहाहरुलाई १० दिन अस्पतालमा राख्नुपर्ने जानकारी दिनुभएको छ । अर्को सातामात्रै अस्पतालबाट डिस्चार्ज गरिने सक्ने बताउनु भयो ।