रुपन्देही, मंसिर २२ । भैरहवा– सिद्धार्थनगर–८ मा रहेको होटल एसियन परिसरको इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर (मिनि क्यासिनो) मा फेरि पुरानै विवादास्पद व्यक्ति हावी भएका छन् ।
झापा मेचीनगर–९ का समीर शर्मा, जो यसअघि कमिशन हिनामिना, शेयरधनीहरूलाई आपसमा झगडा लगाउने र नियमविपरीत लाइभ गेम सञ्चालन गरेको आरोपमा क्यासिनोबाट हटाइएका थिए, अहिले पुनः सञ्चालकको रवाफका साथ सक्रिय हुनुभएको देखिएको छ । यो बीचमा शर्माले फर्जी कागजात तयार पारी सञ्चालकबीच सेयरको बिबाद सिर्जना गरेको बाताइन्छ ।
स्रोतका अनुसार शर्माले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल आफ्नै गृहजिल्ला झापाका र दैनिकजसो भेटघाट हुने भन्दै ‘सिडियो साब हाम्रै गाऊँले, सबै आफैं मिल्छ’ भन्दै क्यासिनोभित्र–बाहिर हालीमुहाली चलाउन थाल्नुभएको हो । केही दिनअघि प्रजिअ पोखरेलले बोलाएको रुपन्देहीका सबै क्यासिनो सञ्चालकहरूको बैठकमा पनि जागिरबाट पहिले नै हटाइसकिएका शर्मा नै इलिगेन्ट क्यासिनोको प्रतिनिधि बनेर उपस्थित हुनुभएको थियो । यो बिषय झनै शंकास्पद रहेको छ ।
स्रोतले बताए अनुसार शर्मा सुरुमा सामान्य कर्मचारीको रूपमा भित्रिएको र पछि हप्तावारी–महिनावारी कमाइको कमिसन आफैं लिने, सञ्चालकलाई थाहै नदिई नियमविपरीत लाइभ गेम चलाउने र शेयरधनीहरूबीच फाटो ल्याएर व्यक्तिगत लाभ लिने गरेको आरोपमा हटाइएको थियो । पछि शर्मा होटल सञ्चालकको साथ लिएर क्यासिनोका सेयर धनीलाई फुटाएर एक पक्षको साथमा भित्रभित्रै सक्रिय रहेको बताइन्छ । हाल नयाँ प्रजिअ आएलगत्तै “गाउँले साइनो” लाई हतियार बनाएर शर्मा फेरि हिन्दी फिल्मीशैलीमा हर्ताकर्ता बन्नुभएको हो ।
यो मात्र होइन, घाटामा डुबेको होटललाई फर्जी कागजात बनाएर नाफामा देखाई आईपीओ जारी गर्ने अन्तिम तयारी पनि उनै शर्माको योजनामा अगाडि बढिरहेको स्रोतको दाबी छ । यस्तो अपारदर्शी कामले चारतारे होटलको लाइसेन्स नै खारेज हुने जोखिम बढेको र शेयरधनीहरूबीच ठूलो असन्तुष्टि पैदा भएको बताइएको छ ।
‘पहिले पनि यिनैले सबै बिगारेका थिए, फेरि सिडियोकै अगाडि यस्तो रवाफ देखाउन थालेपछि क्यासिनो र होटल दुवै डुब्ने निश्चित छ,’ क्यासिनोका एक पुराना कर्मचारीले नाम नबताउने शर्तमा जनताटाइम्स डटकमसँग भन्नुभयाे । ती कर्मचारीका अनुसार अव शर्माले गाऊँले सिडियो छन, जेपनि गर्न सकिन्छ भन्दै यस्तो धन्दा अघि बढाउनु भएको हो । यो बिषयमा सिडियो जानकार छन कि छैनन भन्ने बिषयमा भने स्रोतले एकिन हुन नसकेको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्