काठमाडौं, मंसिर १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो ।
खतिवडा पछिल्लो तीन वर्ष यता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्चगर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताउनुभयो ।
उहाँले चीन र भारतको बजारमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो । लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताउनुभयो । उहाँले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रुपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्