जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ०७:०२

आज तीनै तहका रिक्त पदमा उपनिर्वाचन, ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै


 

काठमाडौं, मंसिर , १४ । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं.२ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३ मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।

यसैवीच निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोगले शुक्रवार भिडियो अपिल गर्दै उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको बताउनुभयो । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तहतर्फ ४३ वडाध्यक्ष गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन् । निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन् ।