काठमाडौं, पुस ४। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग नै निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ का स्थानीय कांग्रेस नेताहरूसँगको भेटघाटका क्रममा उहाँले संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने काम निर्वाचनले गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने काम निर्वाचनले मात्रै गर्छ, हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का जन्मिएको छ।’
डा. कोइरालाले फागुन २१ मा नै निर्वाचन हुनु पर्ने पनि बताउनुभयो । तर सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको धारणा छ। उहाँले भन्नुभयो, ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू बाहिर छन्, यी विषयमा सरकारले के सोचेको छ ?’
सरकारको निष्क्रियताप्रति चिन्ता व्यक्त गर्दै उहाँले समयमै निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले निर्वाचनका लागि जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्