जनता टाइम्स

८ पुष २०८२, मंगलवार २०:००

क्रियाशील सदस्यता वितरण व्यवस्थित बनाउन कांग्रेसको जिल्ला समितिलाई निर्देशन


काठमाडौं, पुस ८ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहज बनाउन सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

कांग्रेसका महामन्त्री गगन थापाले कतिपय जिल्लामा क्रम सङ्ख्या (सिरियल नम्बर) नभएका फारम वितरण भएको गुनासो आएपछि क्रम सङ्ख्या सहितका नयाँ क्रियाशील सदस्यता फारम पुनः प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको जानकारी दिनुभएको छ ।

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया, मापदण्ड र कार्यविधिबारे जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत जानकारी गराइसकिएको पनि महामन्त्री थापाले उल्लेख गर्नुभएको छ ।

परिपत्रमा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगरपालिका तथा वडा कार्यसमितिसँग आवश्यक समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्नुपर्ने स्पष्ट गरिएको छ ।

केन्द्रीय कार्यालयले पार्टीको विधान, नियमावली, केन्द्रीय निर्णय र परिपत्रअनुसार मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्र विवरण केन्द्रमा उपलब्ध गराउन आग्रह गरेको छ ।