काठमाडौं, पुस ८ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंस्थित दी ब्रिटिश कलेजमा चर्को शुल्क र नन–एक्रिडेटेड डिग्रीको विरोधमा भइरहेको शान्तिपूर्ण विद्यार्थी आन्दोलनमाथि कलेज प्रशासनले दमन गरेको आरोप लगाएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले जारी गर्नुभएको विज्ञप्तिमा कलेज प्रशासनले आन्दोलनरत विद्यार्थी र अभिभावकलाई धम्क्याएको गुनासो आएपछि सत्यतथ्य बुझ्न संगठनको नेतृत्व कलेज पुगेको बेला मंगलबार बाउन्सर र प्रहरी प्रयोग गरी शान्तिपूर्ण वातावरण बिथोल्ने प्रयास गरिएको उल्लेख गरिएको छ । संगठनले उक्त घटनाप्रति घोर भत्सर्ना गरेको छ ।
विज्ञप्तिमा विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुको सट्टा भाडाका सिपाही प्रयोग गरी आन्दोलन दमन गरिएको, अनेरास्ववियुका अध्यक्षसहित केन्द्रीय नेतृत्व र विद्यार्थीहरूमाथि धरपकड, बल प्रयोग तथा दुर्व्यवहार गरिएको भन्दै यस्तो कार्य किमार्थ स्वीकार्य नहुने स्पष्ट गरिएको छ । आन्दोलनका क्रममा पक्राउ परेका जितप्रसाद सिटौला, अञ्जली लम्साल (अम्बिका), रूद्रहरी पोखरेल, सुष्मा शाही, मौसम स्याङ्बो, दीपक रेग्मी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरे, सञ्जीव बराइली र आदित्य भण्डारीलाई तत्काल रिहा गर्न अनेरास्ववियुले प्रहरी प्रशासनसँग माग गरेको छ ।
त्यसैगरी, शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरी दमनबाट घाइते भएका अञ्जली लम्साल (अम्बिका), विशाल खड्का, कमल जोशी, रवि मगर, ओमप्रकाश कुँवर, कमल राना, पुष्पा मगर, दीपक रेग्मी, सञ्जीव बराइली, अनमोल खड्का, युवराज पोखरेल र निकेश केशरीलगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
अनेरास्ववियुले कलेज प्रशासनलाई २४ घण्टाभित्र वार्तामा आउन आग्रह गर्दै विद्यार्थीका माग सम्बोधन नगर्ने, संगठनका सदस्यहरूमाथि धरपकड तथा बल प्रयोग जारी राख्ने र वार्ताको वातावरण नबनाए त्यसको जिम्मेवारी कलेज प्रशासनले लिनुपर्ने चेतावनी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्