काठमाडौं, पुस ११ । फास्ट फुड एसोसिएसन नेपालले आफ्नो सञ्जाललाई देशभरि पुर्याएकाे छ ।
एसोसिएसनका महासचिव राकेश श्रेष्ठका अनुसार एसोसिएसनका कार्यक्षेत्र ७ प्रदेश र ७७ जिल्लामा विस्तार भइसकेको र संस्थालाई राष्ट्रिय स्तरको संगठनका रूपमा स्थापित गर्न विधान संशोधन प्रक्रिया पनि सम्पन्न भएको छ। यसका लागि विधान समिति संयोजक धनबहादुर श्रेष्ठसहित समिति सदस्यहरूलाई एसोसिएसनका बैठकले विशेष धन्यवाद व्यक्त गरिएको छ।
बैठकबाट संगठन विस्तारका लागि पदाधिकारी तथा प्रदेशगत जिम्मेवारी तोकिएको छ। जसअनुसार अध्यक्ष होमराज श्रेष्ठलाई (वाग्मती), उपाध्यक्ष रामकाजी भण्डारीलाई (कोसी) र नवीन श्रेष्ठलाई (गण्डकी), महासचिव राकेश श्रेष्ठलाई (कर्णाली), उपमहासचिव भीमप्रसाद आरणलाई (मधेस), सचिव कुमार भण्डारीलाई (सुदूरपश्चिम) र कोषाध्यक्ष टेकबहादुर श्रेष्ठलाई (लुम्बिनी) तोकिएको छ ।

बैठकले फास्ट फुड एसोसिएसन नेपाललाई देशभर विस्तार गर्दै सम्पूर्ण व्यवसायीलाई संगठित गर्ने निर्णय गरेको छ। साथै, सङ्गीत रोयल्टीका नाममा व्यवसायीहरूलाई दिइएको दुःखप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग पहल गर्न र सम्बन्धित संघ–संस्थासँग सहकार्य गर्दै व्यवसायीको हक–हितमा सक्रिय रूपमा लाग्ने निर्णय गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो।
बैठकले पुस ५ गते आयोजित फुटसल कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ। बैठकमा फुटसल कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक सुरेश कार्की, समिति सदस्यहरू, एरिया इन्चार्ज, जिल्ला अध्यक्षहरू, पूर्व अध्यक्ष–सल्लाहकार, व्यवस्थापन सहयोगी, प्रायोजक, पत्रकार, अतिथि, खेलाडी तथा व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरिएको महासचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्