जनता टाइम्स

१३ पुष २०८२, आईतवार ०८:२८

रवि लामिछाने र बालेन साहबिच मध्यरातमा ७ बुँदे सहमति :  रवि रास्वपा सभापति, बालेन भावी प्रधानमन्त्रीका उम्मेदवार


काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबिच ७ बुँदे सहमति भएको छ ।

मध्यराति भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार हुने उल्लेख छ।

सहमतिमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको उल्लेख छ।

सहमति अनुसार एकतापछि गठन हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ नै कायम हुने भनिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने पनि सहमतिमा उल्लेख छ।

त्यस्तै, पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने प्रतिबद्धता जनाइएको छ। आगामी आमनिर्वाचनपछि यस सम्झौताअनुसार पार्टीसम्बन्धी सबै दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने बुँदा पनि सहमतिमा समेटिएको छ।

लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनगामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई पनि आह्वान गरिएको सहमतिमा उल्लेख छ।