जनता टाइम्स

१३ पुष २०८२, आईतवार १०:१७

मोरङमा प्रहरीले चलायो गोली


काठमाडौं,  पुस १३ । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ ।मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।