जनता टाइम्स

१३ पुष २०८२, आईतवार १५:५६

जेनजी विद्रोहलाई रास्वपा र मेयर बालेनले सत्ता स्वार्थको लागि हाइज्याक गर्न खोजे : उपमहासचिव भट्टराई


काठमाडौं,  पुस १३ ।  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच भएको एकतालाई अन्यथा लिन नहुने बताउनुभएको छ।उहाँले आइतबार संचारकर्मीसँगको कुरा गर्दै एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताउनुभएको हो ।

लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उहाँको भनाइ छ । उहाँले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले एकताको घोषणा गरेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ ।त्यसको लागि एमाले तयार रहेको उहाँको भनाइ छ । उहाँले पवित्र उद्देश्यले भदौमा भएको जेनजी आन्दोलनलाई रास्वपा र बालेनले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेनजी अगुवाहरुलाई सजक रहन पनि आग्रह गर्नुभयो।

एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि उहाँले बताउनुभएको छ। हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले आन्तरिक पार्टी एकतलाई बलियो बनाउनेगरी  काम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गर्नुभयो । उहाँले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरुलाई थाँति राखेर सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ।