काठमाडौं, पुस १५ । प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिक उम्मेदवारको सूचीमा राखेपछि प्राध्यापक डा. महेन्द्र लावतीले असहमति जनाउनुभएको छ । रास्वपाले सोमबार ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आगोगमा बुझाएको छ। त्यसमा डा. लावतीको नाम १२औँ नम्बरमा छ।
उहाँलाई आदिवासी जनजातितर्फ समानुपातिक सूचीमा राखिएको हो। आफूसँग सरसल्लाह नगरी समानुपातिकमा नाम राखिएको भन्दै डा.लावतीले असहमति जनाउनुभएको छ । यस विषयमा रास्वपा नेतृत्वलाई फोन गरेर असहमति जनाइसकेको उहाले बताउनुभएको छ । उहाँले ‘अहिले म गाउँमा छु,’ रास्वपा नेताहरूलाई फोन गरिसकेको बताउँदै भन्नुभयो, ‘मैले मेरो नाम हटाइदिनू भनेको छु।’ उहाँ उज्यालो नेपाल पार्टीमा आवद्ध हुनुहुन्थ्यो।
तर, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सोमबार रास्वपासँग एकता गर्नुभएको छ। एकताका लागि भएको सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित हुनुहुन्थ्यो।
सहमतिपछि उज्यालो नेपाल पार्टीलाई समानुपातिकमा १८ सिट दिइएको छ। त्यसमा उज्यालो नेपालका अध्यक्ष उपाध्यक्षसँगै डा. लावतीको नाम पनि राखिएको छ।













प्रतिक्रिया दिनुहोस्