काठमाडौं, पुस १६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ सिफारिस गरिएका केही उम्मेदवारलाई आफूसँग जोडेर गरिएको टीकाटिप्पणी असत्य, भ्रामक र नियोजित भएको स्पष्टीकरण दिनुभएको छ ।
सार्वजनिक रूपमा जारी गर्नुभएको स्पष्टीकरणमा मन्त्री घिसिङले समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्नो भान्जा नभएको र उहाँ उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति भएको स्पष्ट पार्नुभएको छ । त्यसै गरी, समानुपातिक सूचीमा रहेका र आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना, दबाब वा नातागोताका आधारमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको जिकिर गर्नुभएको छ । ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु,’ स्पष्टीकरणमा भनिएको छ, ‘त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता हल्ला दुःखद छन् ।’
मन्त्री घिसिङले राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर कसैको चरित्रहत्या गर्ने प्रयास आपत्तिजनक हुने उल्लेख गर्नुभएको छ । साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सच्याइने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । ‘बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु’, उहाँले लेख्नु भएकाे छ ।
‘म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जबाफदेहितामा दृढ छु,’ उहाँले भन्नुभएको छ, ‘त्यसैले यस्ता भ्रामक समाचार र टीकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्