काठमाडौं, पुस १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताउनुभयो । ‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं ।’
उहाँले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैँकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिनुभयो । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उहाँको भनाइ छ । ‘हामीले हाम्रा मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौँ भनेका छौँ, फेरि विद्रोहमा नजाऔँ भनेको छौँ, आइतबार सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँबाट लघुवित्त, सहकारी, बैँक लखेट्न थाल्छौँ’ प्रसाईँले चेतावनी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्