जनता टाइम्स

१७ पुष २०८२, बिहीबार १९:१५

बिजनेस क्लासको टिकटमा आउनेहरुलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छः अध्यक्ष चन्द्र ढकाल


काठमाडौं, पुस १७ ।  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभयो । ढकालका अनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भन्नुभयो – ‘कसैले विजनेश क्लासको टिकट किनेको छ र विजनेस क्लासको प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यही अनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजनहरु कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीहरुलाई त ठिकै छ तर विदेशीहरुले तिरेको प्रिमियम अनुसारको सुविधा पाएका छैनन् । प्रिमियम तिरेकाहरुलाई सोही अनुसारको सुविधा नपाउँदा बाहिर नकारात्मक सन्देश जान्छ र यसले पर्यटन प्रवद्र्धनमा असर पारिरहेको छ ।’
पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ ।