जनता टाइम्स

१९ पुष २०८२, शनिबार १२:०४

आसिफ शाह र सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम


काठमाडौं,  पुस  १९।  नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएको छ ।

उहाँले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गर्नुभएको छ । ‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेख्नुभएको छ, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’

उहाँले अघि लेख्नुभएको छ, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,’ कलाकार शाहले भन्नुभएको छ, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ ।’

यसैबिच उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै ढकालले विदेशमा अध्ययनपछि उतै प्रशस्त अवसर भए पनि स्वदेशमै उद्यम गरेर देशको समृद्धिमा योगदान दिने अठोटका साथ नेपाल फर्किएको उल्लेख गर्नुभएको छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा इमान्दार प्रयास गर्नुपर्छ भन्ने प्रेरणा आफ्ना पिता, चर्चित उद्योगपति चन्द्रप्रसाद ढकालबाट पाएको उहाँको भनाइ छ।

ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा आफू सक्रिय रहेको उल्लेख गर्दै वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिनु मुलुकका लागि चिन्ताजनक तथ्य भएको बताउनुभएको छ। विदेशमा आकर्षक अवसर त्यागेर स्वदेश फर्किने युवाहरूको प्रयासमा साथ र सहयोग गर्ने आफ्नो प्रतिबद्धता पनि उहाले दोहोर्‍याउनुभएको छ ।

युवाको सामूहिक नेतृत्व, नवीन सोच र ऊर्जाबाट सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । यही परिवेशमा आफूलाई समानुपातिक सूचीमा समावेश गरिएकोप्रति पार्टी नेतृत्वप्रति आभार प्रकट गरे पनि संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ।

उहाँले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी आवश्यक परेमा सधैँ तत्पर रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । साथै, आफू कुनै व्यावसायिक घरानाको सन्तान भएकै कारण नभइ, आफ्नै शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्दै नवउद्यम र नवीन सोचमार्फत योगदान गर्न चाहेको स्पष्ट पार्नुभएको छ।

परम्परागत व्यवसायको निरन्तरताभन्दा पनि नविनता, चुनौती र नयाँ सम्भावनाका क्षेत्रमा आफूलाई खार्ने प्रयास गरिरहेको उल्लेख गर्दै ढकालले त्यो प्रयास नेपाली युवाका लागि उदाहरणीय बन्न सकोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।