नेपालगञ्ज, पुस १९ । आसन्न फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ मा सूर्य ढकालको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
बाँके निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कमिटीको आज बसेको बैठकले सर्वसम्मत रूपमा ढकालको नाम प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका ढकाललाई संगठनात्मक अनुभव, जनसम्पर्क र पार्टीप्रतिको प्रतिबद्धताका आधारमा एकल उम्मेदवारका रूपमा अघि सारिएको नेताहरूले बताएका छन् ।
क्षेत्रीय कमिटीका एक नेताका अनुसार पार्टीभित्र धेरै आकांक्षि भए पनि उहाँकाे नाममा सर्वसहमतिको वातावरण बनेको हो । ‘संगठनलाई एकताबद्ध बनाएर चुनावी प्रतिस्पर्धामा जाने उद्देश्यले सर्वसम्मत निर्णय गरिएको हो,’ ती नेताले भने ।
पार्टी कार्यकर्ता र समर्थकहरूले ढकालको एकल सिफारिसलाई स्वागत गरेका छन् । उनीहरूका अनुसार जनतासँग नजिक रहेका र पार्टीको नीति–विचारप्रति प्रतिबद्ध उम्मेदवारलाई अघि सारिनु नै निर्वाचनमा विजयको बलियो आधार हो ।
अब क्षेत्रीय कमिटीको सिफारिस पार्टीको माथिल्लो तहमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने बताइएको छ । यद्यपि बाँके–१ मा सूर्य ढकाल नै नेकपा एमालेको प्रमुख चुनावी उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्