जनता टाइम्स

२० पुष २०८२, आईतवार ११:२६

रामेछाप हाट : किनमेल मात्र होइन, भेटघाटको पनि प्रमुख थलो


रामेछाप, पुस २० । आधुनिक यातायात सञ्जाल विस्तार भएसँगै गाउँघरमा उपभोग्य सामग्री सहजै पुग्न थालेपछि धेरै स्थानीय हाटबजार बिस्तारै हराउँदै गएका छन्। तर,  रामेछाप नगरपालिका- ८  रामेछाप बजारमा दशकोंदेखि लाग्दै आएको बिहीबारको हाट भने अझै पनि निरन्तर चलिरहेको छ।

रामेछाप बजारको हाट केवल सामान किनबेचको थलो मात्र होइन, स्थानीयको भेटघाटको मुख्य केन्द्र पनि बनेको छ। रामेछाप नगरपालिका–८ का दामोदर घिमिरेले भन्नुभयाे “पुराना साथीभाइ र इष्टमित्रसँग भेट्नु पर्‍यो भने हाट जानुपर्छ, धेरैजसो मानिस भेटघाटका लागि हाट आउँछन्, किनमेल नगरे पनि।“

रामेछाप हाट खसी–बोका, कुखुरा, गहत, मस्याङ, राजमा जस्ता गेडागुडी, स्थानीय फलफूल तथा तरकारीका लागि प्रख्यात छ। यहाँको हाटमा सिन्धुली, दोलखा र काभ्रे जिल्लाबाट समेत मानिसहरू कृषि उत्पादन खरिद गर्न आउने गर्दछन्। रामेछाप नगरपालिका–५ रामपुरका भरतसिं तामाङले भन्नुभयाे, “खसी–बोका र गेडागुडीका लागि यो हाट प्रख्यात छ, भेटघाटको लागि पनि उत्कृष्ट स्थान बनेको छ।”

त्यसबेला सदरमुकाम बस्नेहरूलाई तरकारी, फलफूल र अन्नपात किन्न सहज बनाउन सुरु गरिएको यो हाट  रामेछापबाट सदरमुकाम मन्थली सरे पनि  निरन्तर चलिरहेकाे छ । अहिले रामेछाप बजारको मुख्य ब्यापार नै यही हाटले धानेकाे छ । विसं २०४५ सालमा सदरमुकाम मन्थली सर्‍यो तर रामेछाप बजारको बिहीबार हाट आज पनि यथावत् नै सञ्चालन भइरहेको छ।