दोलखा, पुस २० । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले दोलखा जिल्ला कमिटीले केन्द्रीय सदस्य पार्वत गुरुङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय भएकाे पार्टी जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले प्रष्ट पार्नु भएकाे छ ।
उम्मेदवार सिफारिसका लागि २०८२ साल पुस १९ र २० गते बसेको नेकपा (एमाले) दोलखा जिल्ला कमिटीको ११औँ पूर्ण बैठकले प्रक्रियागत ढंगबाट उम्मेदवार चयनसम्बन्धी निर्णय गरेको उहाँले जानकारी दिनुभयाे । पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशनअनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गर्ने अधिकार दिइएको श्रेष्ठले प्रष्ट पार्नुभयाे।
बैठकमा उम्मेदवार सिफारिससम्बन्धी एजेन्डामा सहभागी सदस्यहरूलाई तीन–तीन मिनेट समय दिएर धारणा राख्ने व्यवस्था गरिएको बताउँदै उहाँले भीमेश्वर र जिरी नगरपालिका तथा विगु, शैलुङ, मेलुङ, वैत्येश्वर र गौरीशंकर गाउँपालिकाका पार्टी अध्यक्षहरूले पार्टी सदस्य र जनस्तरको भावना समेटेर प्रतिवेदन प्रस्तुत गरेका जानकारी दिनुभयाे । कालिञ्चोक र तामाकोसी गाउँपालिकाका अध्यक्ष भने काम विशेषले बैठकमा अनुपस्थित रहेका आइतबार आयाेजित पत्रकार सम्मेलनमा श्रेष्ठले बताउनुभयाे ।
बैठकमा उपस्थित कुल सदस्यहरूमध्ये करिब ६० प्रतिशतले धारणा राख्नु भएकाे थियाे । वर्तमान राजनीतिक परिस्थिति र प्रतिस्पर्धी दलहरूको विश्लेषण गर्दै उपस्थित पालिका कमिटीका सबै तथा बहुसंख्यक सदस्यहरूले पार्वत गुरुङलाई एमालेको तर्फबाट एकल उम्मेदवार सिफारिस गर्न मत व्यक्त गर्नु भएकाे उहाँले बताउनुभयाे ।
बैठकमा केन्द्रीय सदस्यहरू पार्वत गुरुङ, रचना खड्का, श्याम बस्नेत, केन्द्रीय सल्लाहकार डबल पाण्डे तथा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण सिवाकोटी, कालिका पाठक र प्रदेश कमिटी सदस्यहरू समेतको उपस्थिति रहेको थियो । बैठकका अतिथिहरू रचना खड्का, श्याम बस्नेत, डबल पाण्डे र बालकृष्ण शिवाकोटीले पनि उम्मेदवार बन्ने इच्छा व्यक्त गरेकाले ती नामहरू समेत उल्लेख गरी केन्द्रमा पठाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयाे ।
जिल्ला कमिटीले पार्टीको आधिकारिक उम्मेदवार जो–कोही भए पनि एकमनाका साथ निर्वाचन जिताउने प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयाे । एक निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला कमिटीको निर्णय नै वैधानिक र आधिकारिक हुने भएकाले बैठकको निर्णय मानेर अघि बढ्ने बहुमतले प्रतिबद्धता जनाएको अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयाे।
अध्यक्ष श्रेष्ठले पार्टीको विधि र पद्धतिअनुसार उम्मेदवार सिफारिस गरिएको स्पष्ट पार्दै पार्टी हित विपरीत हुने गतिविधि र अनुशासनहीन प्रचारबाजीमा विश्वास नगर्न आग्रह गर्नुभयाे ।
पार्टीकाे साे निर्णयकाे बिराेध जनाउँदै एमाले जिल्ला उपसचिव हरि ओलीले पत्रकार सम्मेलन गरी आफु सहित सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा कमिटिका संयोजक इस्वरीप्रसाद दहाल, जिल्ला कमिटी सदस्यहरु स्यामसुन्दर शिवाकोटी, इन्द्रबहादुर थामी, रमा शिवाकोटी, सविना केसी, कुमार बस्नेत, प्रलाद लामिछाने र विक्रम खड्काले सामुहिक राजीनामा दिएको बताए पछि श्रेष्ठले गलत हल्लाकाे पछि नलाग्न आग्रह गर्नु भएकाे हाे ।














प्रतिक्रिया दिनुहोस्