काठमाडौं, पुस २१ । आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित एक कार्यक्रममा ट्रफी सार्वजनिक गर्नुभयो ।शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभयो ।
‘ट्रफी टुर’ कार्यक्रम अन्तर्गत भोलि बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पोखरामा विश्वकप ट्रफीको फोटोशूट, दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी तथा पर्सि दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।
नेपालमा विश्वकप ट्रफी ल्याइ नेपाली क्रिकेट र समर्थकको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गर्नुभयो ।टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आइपुगेको हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो ।टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।













प्रतिक्रिया दिनुहोस्