काठमाडौं, पुस २१ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताउनुभएको छ ।
नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठन गर्ने विषयमा मात्रै सहजीकरण गरेको जिकिर गर्नुभयो । ‘भदौ २३ र २४ गते राज्यबिहीनताको अवस्था थियो, अहिले के होला ? भोलि के होला भन्ने संशय थियो, भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्यीकरण गर्न भूमिका खेल्यौँ’, उहाँले भन्नुभयो , ‘राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना बसेर मेहनत गर्यौँ, कामचलाउ प्रधानमन्त्री केपी ओलीजीको सिफारिसमा अन्तरिम सरकार बन्यो तर संसद् विघटनमा सहमति भएको थिएन, राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाजीको सिफारिसमा संसद् विघटन भयो ।’
प्रचण्डले तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको कारण देश दुर्घटनामा परेको जिकिर गर्नुभयो । कांग्रेस र एमालेले सहन नसकेर जबर्जस्ती आफूलाई सत्ताबाट हटाएको आरोप उहाँले दोहोर्याउनुभयो । ‘राम्रो गर्दा गर्दै दुई ठुला दलहरूले सहन सकेनन्, सरकारबाट हटाए, संविधान मिचेर हटाएको छ, यसको परिणाम राम्रो हुँदैन भनेर मैले संसदमा बोलेको थिएँ तर उनीहरूले सुनेनन्’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्