जनता टाइम्स

२१ पुष २०८२, सोमबार १९:३५

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेर सकियो कांग्रेस बैठक


काठमाडौं,  पुस २१। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेर सकिएको छ ।

कांग्रेसले ८ सिट दाबी गरे पनि अन्य दलहरूसँग सहमति नभइसकेकाले सिट तोक्नु उपयुक्त नहुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइ थियो । उहाँले बैठकमा तालमेलका विषयमा समझदारी मात्र भएको भन्दै सिट बाँडफाँटको विषय सहमतिपछि मात्र सार्वजनिक गर्नु उपयुक्त हुने बताउनुभएको थियो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले आजै साँझ सिट बाँडफाँटमा सहमति हुने बताउनुभयो ।

बैठकमा कार्यवाहक सभापति खड्काले कांग्रेसले तालमेलमा ८ सिट दाबी गरेको ब्रिफिङ गर्नुभएको थियो । कांग्रेस–एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सिट बाँडफाँटको प्रस्तावमा कांग्रेसले मधेसकेन्द्रित दललाई पनि सामेल गराउने प्रस्ताव गरेको छ ।अब यी दलहरूबीच सिट बाडफाँट हुनेछ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले २ सिट दाबी गर्नु भएकाे छ । अन्य दलले एक सिट मात्र दिन सकिने विकल्प बताइरहेका छन् ।

राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते चुनाव हुँदै छ ।