रामेछाप, पुस २१ । तामाकोसी नदी मन्थलीका स्थानीयका लागि केवल बग्ने पानी मात्र थिएन- यो नदीसँग उनीहरूको जीवन, इतिहास र सम्झना जोडिएको थियो। तर, यही नदी एक दिन पानी चिर्दै ‘पानीजहाज’ दौडिन्छ भन्ने कल्पना सायद धेरैले गरेका थिएनन्। आज त्यो कल्पना यथार्थमा बदलिएको छ।
तामाकोसी नदीको सतह चिर्दै तीव्र गतिमा अघि बढ्ने जेटबोटले मन्थलीमा नयाँ दृश्य मात्र होइन, नयाँ सम्भावनाको ढोका पनि खोलेको छ। पहिलो पटक तामाकोसीमा जेटबोट सञ्चालनमा आएसँगै रामेछापको पर्यटनमा साहसिक पर्यटनकाे अध्याय थपिएको छ।
नदीमाथि ठूलो माछा उफ्रिएजस्तै देखिने जेटबोट जब तीव्र गतिमा अगाडि बढ्छ, यात्रुहरूको मुटु एकछिन थामिन्छ। केही सेकेन्डमै डर, उत्साह र खुसी मिसिएको अनुभूति अनुहारमा झल्किन्छ। यही रोमाञ्चक अनुभूति दिन तामाकोसी मरिण एडभेन्चर प्रालिले जेटबोट सेवा सुरु गरेको हो।
परीक्षणपछि सुरु भयो व्यावसायिक यात्रा
जेटबोट सञ्चालन सहज निर्णय थिएन। नदीको बहाव, गहिराइ, घुम्ती, ढुंगा र जोखिमपूर्ण क्षेत्रबारे लामो समय अध्ययन गरियो। प्राविधिक परीक्षण सफल भएपछि हाल छोटो दूरीमा व्यावसायिक रूपमा सेवा सुरु गरिएको कम्पनीका सञ्चालक सागरहरि अधिकारी बताउनुहुन्छ।
‘नदीको अवस्था जेटबोटका लागि उपयुक्त देखियो,’ उहाँले भन्नुभयाे, ‘हाल सीमित दूरीमा सेवा चलाइरहेका छौँ, कानुनी र प्राविधिक प्रक्रिया पूरा भएपछि विस्तार गर्ने तयारी छ।’
हाल परीक्षण र छोटो दूरीमा सीमित भए पनि कम्पनीको योजना निकै महत्त्वाकाङ्क्षी छ। आवश्यक स्वीकृति र सरोकारवाला निकायसँगको समन्वयपछि मन्थलीदेखि खुर्कोटसम्म जेटबोट सञ्चालन गर्ने लक्ष्य राखिएको छ। जेटबाेटसँगै र्याफ्टिङ पनि चलाउने कम्पनीकाे याेजना उहाँले सुनाउनुभयाे ।
सात मिनेटमा १५ किलोमिटर यात्रा
यदि मन्थली–खुर्कोट जेटबोट सेवा सञ्चालनमा आयो भने करिब १५ किलोमिटर दूरी मात्र सात मिनेटमै पार गर्न सकिनेछ। अहिले यही दूरी सडकमार्गबाट पार गर्न कम्तीमा आधा घण्टा लाग्छ।
यो सेवा केवल पर्यटकका लागि मात्र होइन, स्थानीय आवतजावत, आकस्मिक उद्धार र सम्भावित आपत्कालीन सेवाका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ। नदीलाई चुनौती होइन, अवसरका रूपमा प्रयोग गर्न सकिने उदाहरणका रूपमा जेटबोटलाई हेरिएको छ।
आन्तरिक पर्यटकको चासो बढ्दो
१५ जनासम्म यात्रा गर्न मिल्ने सिट क्षमताको जेटबोट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरूको चासो उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी बिदाका दिनमा सयभन्दा बढी यात्रुले जेटबोट यात्रा गर्ने गरेको कम्पनीको तथ्यांक छ।

पहिलो पटक पानीजहाज चढ्नेहरूका लागि यो अनुभव अविस्मरणीय बनेको छ। नदीको बहावसँगै उफ्रँदै अघि बढ्दा कोही चिच्याउँछन्, कोही हाँस्छन्, त कोही मोबाइलमा भिडियो कैद गर्न व्यस्त देखिन्छन्।
स्थानीय पर्यटन र रोजगारीमा आशा
जेटबोट सञ्चालनले मन्थली र आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ। होटल, रेस्टुराँ, यातायात सेवा र स्थानीय रोजगारीमा समेत यसको सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको विश्वास छ।
तामाकोसी नदीलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिए रामेछाप आन्तरिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ। नदी, पहाड र संस्कृतिको संगममा रोमाञ्चक अनुभव थपिँदा मन्थलीको पहिचान नै बदलिन सक्छ।

कानुनी प्रक्रिया अन्तिम चरणमा
जहाज सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मन्थली नगरपालिकामा बुझाइसकिएको छ। नगरपालिकाबाट स्वीकृति प्राप्त भएपछि थप कानुनी र प्राविधिक प्रक्रिया अघि बढाइने सञ्चालक अधिकारी बताउनु हुन्छ ।
तामाकोसीमा सुरु भएको यो जेटबोट सेवा केवल यात्राको नयाँ माध्यम मात्र होइन। यो रामेछापको पर्यटन सम्भावना, साहसिक पहिचान र विकासको नयाँ संकेत हो। पानीजहाजसँगै मन्थली अब भविष्यतर्फ ‘सरर’ गर्दै अघि बढिरहेको छ।













प्रतिक्रिया दिनुहोस्