जनता टाइम्स

२२ पुष २०८२, मंगलवार ०८:२५

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस


काठमाडौं,  पुस २२ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।हिजो÷अस्तिको भन्दा पनि आज तापक्रम घटेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवार ४ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकासँगै तराईरमधेश र अरु क्षेत्रमा पनि चिसो छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ ।

चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् ।बालबालिका, वृद्धवृद्धा बिरामी पर्ने क्रम बढेको छ । तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो ।