वीरगञ्ज, पुस २२ । सर्वदलीय तथा सर्वपक्षीय बैठकको सहमतिपछि वीरगञ्जमा विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन रोक्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यु आज अपराह्न ३ः३० बजेदेखि हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय शान्ति–सुरक्षाको अवस्था सुधार हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अब वीरगञ्जको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
बैठकले आगामी दिनमा विरोध वा आन्दोलन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन्न समुदायका प्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजको सहभागितामा स्थायी सद्भाव संयन्त्र गठन गर्ने सहमति पनि भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ भने सबै पक्षले आत्मसंयम अपनाउँदै थप विरोध कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्