काठमाडौं, पुस २४ । सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका नेपाली युवाहरूको पक्षमा बिभिन्न निर्णय गरेको छ । इपीएस परीक्षा उतिर्ण गरेपनि विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिहरूको पक्षमा सरकारले तीन निर्णय गरेको हो ।
निर्णय कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान योग्य भएकाहरूको रोस्टरको सीमा हटाउन पत्राचार गर्ने भएको छ । रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारसमेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले यही पुस १८ गतेको मन्त्रीस्तरीय निर्णय गरिएको र सो निर्णय कार्यान्वयनमा लैजान पहल भइरहेको जानकारी दिनुभयो । दोस्रो निर्णयका रुपमा इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका मागलगायत इपिएस प्रणाली अन्तर्गत नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने निर्णय गरेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।
यसैगरी इपिएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शीता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ ।













प्रतिक्रिया दिनुहोस्