काठमाडौं, पुस २४। नेकपा (एमाले) ले पार्टीको आन्तरिक जीवन सुदृढ गर्ने र आगामी कार्यदिशा स्पष्ट पार्ने उद्देश्यसहित ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन–१’ (सर्कुलर) मातहतका कमिटीहरूमा पठाएको छ।
बुधबार जारी सर्कुलरमा महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्याउने, संगठनलाई चलायमान बनाउने, युवा परिचालन र नेताहरूको कार्यविभाजनसम्बन्धी विस्तृत योजनाहरू समेटिएका छन्। एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनलाई दृष्टिगत गर्दै युवाहरूलाई पार्टीमा जोड्ने लक्ष्यसहित ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ। उक्त अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने सह–संयोजकमा समिक बडाल हुनुहुन्छ।
सर्कुलरअनुसार सातै प्रदेशमा युवा परिचालनका लागि छुट्टाछुट्टै संयोजक तोकिएका छन्। कोशी प्रदेशमा मनोज ताम्ली, मधेसमा मोविन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरा संयोजकको जिम्मेवारीमा रहनुहुन्छ। सर्कुलरमा केन्द्रीय तथा प्रादेशिक तहको काम समन्वय गर्ने नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
यसैगरी एमालेले आगामी निर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। सर्कुलरमा भनिएको छ, ‘जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पङ्क्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ।’
सूचना प्रविधिको युगलाई मध्यनजर गर्दै पार्टीले सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न पनि निर्देशन दिएको छ। पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि ‘डिजिटल क्याम्पियन’ लाई वडा तहसम्म विस्तार गर्ने योजना सर्कुलरमा विस्तृत रूपमा समेटिएको छ।
साथै, राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्ने, संशोधित विधानको सम्पादन तथा प्रकाशन गर्ने र केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने जस्ता महत्वपूर्ण साङ्गठनिक विषयहरूलाई पनि ‘अन्तरपार्टी निर्देशन–१’ मा समावेश गरिएको छ।













प्रतिक्रिया दिनुहोस्