जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार २१:३१

आशिका तामाङ काठमाडौँबाट, सुदन गुरुङ गोरखा–१ बाट चुनाव लड्ने


काठमाडौं,  पुस  २५ ।  सामाजिक अभियान्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

उहाँले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । साथै, उहाँले कुनै पनि दलमा आबद्ध नहुने बताउनुभएको छ।उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’

यसैबिच जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू आगामी निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने घोषणा गर्नुभएको हाे ।

उहाँले लेख्नुभएको छ,’गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु, आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलामान घिसिङबीच एकता गराउन पहल गर्नुभएको थियो ।