जनता टाइम्स

२६ पुष २०८२, शनिबार ०८:०८

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने


काठमाडौं,  पुस २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बस्नेछ ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले केपी ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि पहिलो पटक पुस ४ गते पहिलो बैठक बसेको थियो । सोही बैठकले आजदेखि पुस २८ गतेसम्मका लागि दोस्रो बैठक बस्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनका विषयमा पनि छलफल हुनेछ ।

पार्टीमा यसअघि चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर सल्लाहकार परिषद गठन गर्ने एमालेको तयारी छ ।एमालेले यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाइसकेको छ ।