जनता टाइम्स

२६ पुष २०८२, शनिबार १५:१९

सबैसँग मित्रता, कसैसँग शत्रुता छैन, स्वतन्त्रता, अहस्तक्षेप र बहुपक्षीयता कायम रहोस् : केपी ओली 


काठमाडौं, पुस २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गर्नुभएको छ।

ओलीले भन्नुभयो, “विश्व राजनीति अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ, नियममा आधारित प्रणाली निष्प्रभावी हुँदैछ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदैछन्, शक्ति राष्ट्रबीचको अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ।”

उहाँले हालसालै देखिएका घटनाहरूको उदाहरण दिँदै भन्नुभयो, “कुनै सार्वभौम राष्ट्रका नेताहरूमाथि हत्या धम्की, अपहरण, आतङ्कवादका आक्रमण, निर्दोष नागरिकको नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग, जलवायु सङ्कटजस्ता चुनौतीहरूले मानव जातिको अस्तित्वमै खतरा पैदा गरेका छन्।”

नेकपा एमालेको नीति अनुसार, स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित बाह्य सम्बन्ध, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अहस्तक्षेप र सह–अस्तित्व प्रवद्र्धन नै प्राथमिकता हुन्। ओलीले अतिवाद, कट्टरपन्थ, संरक्षणवाद र पथभ्रष्ट राजनीतिको विरोध जारी राखेको पनि दोहोर्याउनुभयो। उहाँले भनिरहनुभयो, “सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ हाम्रो परराष्ट्र नीतिका मूल मान्यता हुन्, कुनै मुद्दा वा विचारधाराले राष्ट्रबीचको ध्रुवीकरण वा विभाजनको बहाना बन्न हुँदैन, अन्तर्राष्ट्रिय विवादहरू संवाद र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण समाधान हुनुपर्छ।”

ओलीले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र अमेरिका प्रक्रियामा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत भएको भन्दै यसप्रति पार्टीको विरोध व्यक्त गर्नुभयो। त्यस्तै, युक्रेनको भौगोलिक अखण्डता सम्बन्धी छलफल, ग्रिनल्याण्ड नियन्त्रण प्रयास र गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतिमाथिको ज्यादतीप्रति गहिरो आपत्ति व्यक्त गर्नुभयो।

अल्पसङ्ख्यक समुदायमाथिको हमलाप्रति चिन्ता प्रकट गर्दै बङ्गलादेशको परिस्थिति सुधार्न ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै म्यान्मारमा लोकतन्त्र शीघ्र बहाल हुनुपर्ने मागसमेत ओलीले राख्नुभयो।