जनता टाइम्स

२६ पुष २०८२, शनिबार १९:०६

रास्वपाले एकलौटीरूपमा सहमति भंग गर्‍यो, निकै मर्माहत भएको छु : कुलमान घिसिङ (यस्ता छन् नमिल्नुको मुख्य कारण)


काठमाडौं, पुस २६। उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटीरूपमा पार्टी भंग गरेको बताउनुभएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले आफूहरू एकतामा जान तयार भए पनि रास्वपाले शनिबार सहमति भंग भएको जानकारी गराएको बताउनुभयो ।

यस्ता छ उहाँकाे धारणा :

रास्वपासँग ठूलो बार्गेनिङ गरिएको कुरा सरासर गलत छ। म आफैँ वरीयतामा धेरै तल बसेर एकतामा गएको थिएँ। आज अन्तिमपटक मैले साधारण सदस्य भएर बस्छु भनेको थिएँ। हाम्रा केन्द्रीय समितिका साथीहरूलाई एडजस्ट गरौं भनेका थियौँ। यो ठूलो विषय पनि थिएन। मुख्य मुद्दाका विषय समावेशीता, संघीयता र संविधानले देखाएका आधारभूत विषयमा पूरक सम्झौता गर्न भनेका थियौँ। त्यो पनि हुन सकेन।

हाम्रा साथीहरूले उठाएका विषयलाई लामो प्रक्रियामा अल्झाइयो। समानुपातिकका विषयमा पनि लामो समय लिनुभयो । सबै कुरा त्यागेर हामी आएका थियौं। तर, लामो समय इंगेज गरेर बस्दा उज्यालो नेपाल पार्टीले ठूलो क्षति व्यवहोरेको छ। आज उहाँहरूले सहमति भंग गरेको घोषणा गर्नुभयो। एकतर्फी रूपमा उहाँहरूले मलाई जानकारी गराउनुभयो।

त्यसपछि हामी यसरी जुटेका छौँ। वास्तवमा हाम्रो लागि १२ दिन अत्यन्तै पीडादायी भयो। अब हामी ६५ क्षेत्रमै उम्मेदवारी दिन्छौं। रातदिन नभनीकन निर्वाचन अभियान सञ्चालन गर्छौँ ।