जनता टाइम्स

२६ पुष २०८२, शनिबार २०:५३

मन्थलीमा दुईदिने कृषि तथा लघुउद्यम प्रदर्शनी मेला, नगरका उद्यमी र किसान भए भेला 


रामेछाप, पुस २६ । कृषि तथा पशुजन्य उत्पादनको प्रवर्धन र स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले दुईदिने कृषि तथा लघुउद्यम प्रदर्शनी मेला आयोजना गरेको छ।

मेलाको उद्घाटन वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्नु भएकाे हाे। मेला दुई दिनसम्म सञ्चालन हुनेछ र यसमा मन्थली नगरपालिकाभित्रका अगुवा किसान र लघुउद्यमीहरूले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन, साथै विभिन्न लघुउद्यम सामग्रीहरू प्रदर्शनीका लागि राखिएका छन्।

मन्थली नगरपालिकाको कृषि विकास शाखा प्रमुख यौवन सुनुवारका अनुसार, मेलाको उद्देश्य नगरपालिकाभित्र उत्पादित बस्तुको प्रवर्धन गर्नु, किसानहरूबिच अनुभव तथा सीप आदानप्रदान गर्न, उत्पादक र उपभोक्ताबिच सिधा सम्बन्ध स्थापना गर्नु, र कृषक तथा व्यवसायीबिचको सम्बन्ध विस्तार गर्नु रहेको छ।

मेलामा कुल ५४ वटा स्टल राखिएका छन्। प्रदर्शनीमा हाते बुनाइका सामाग्री, बाँस र निगालोका सामान, दुना–टपरी, साबुन, सरफ, दूधजन्य उत्पादन, तरकारी, गेडागुडी, फलफूल, खसी–बोका लगायतका सामाग्री बिक्रीका लागि राखिएका छन्।