जनता टाइम्स

३ माघ २०८२, शनिबार ०८:१७

साँघुटारमा वडास्तरीय खुल्ला भलिबल, चार जिल्लाका २६ टिम सहभागी 


रामेछाप, माघ ३ । रामेछाप नगरपालिका–३ साँघुटारमा वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

साँघुटार युवा क्लबद्वारा आयोजित प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सिन्धुली र दोलखा जिल्लका २६ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गर्नुभयो ।

कार्यक्रम उद्घाटन गर्दै उहाँले यस्ता प्रतियोगिताले खेलाडीहरूकाे खेलका माध्यमबाट आफ्नो भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सीमित धान, स्रोतका बिचमा पनि खेल आयोजना गरेकोमा उहाँले आयोजकलाई धन्यवाद दिनुभयो ।

उहाँले खेलकुद प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्ने स्थानीय सरकार र सहयोगी दाताहरूलाई पनि धन्यवाद दिनुभयो । सामाजिक काम गर्ने कुरा असाध्यै गाह्रो भएको बताउँदै उहाँले यस्ता कामले नेतृत्व विकास र सामाजिक क्षेत्रमा काम गर्ने दायरा थप फराकिलो हुँदै जाने बताउनुभयो ।

क्लबका अध्यक्ष नरेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप र ओखलढुंगाका विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू लगायतकाे सहभागिता थियो । तीनदिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई ८१ हजार, दोस्रो हुनेले ४१ हजार, तेस्रो हुनेले २१ हजार र चौथो हुने टिमले ८ हजार रुपैँया पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।