जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १७:१४

अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याइन्छ : मन्त्री गुरुङ


काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले सो जानकारी दिनुभएको हो ।

‘अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन ।’

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर आज आयोजित कार्यक्रममा उहाँले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अपाङ्गता भएका व्यक्तिको उत्थानमा लागि पर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्नुभएको थियो ।