जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १७:३२

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार हुँदै गएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको अस्पतालले जनाएको हो ।

प्रधानमन्त्री ओलीको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा संलग्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भन्नुभयो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको मंसिर १० गते सोही केन्द्रमा भर्ना हुनुभई एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अङ्ग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ । सोहीअनुसार प्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिएको हो । प्रधानमन्त्री ओलीले हिजो (सोमबार) सो सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिनुभएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सोमवार भन्दा झनै सुधार आएको चिकित्सकको भनाई छ ।