जनता टाइम्स

१० माघ २०८२, शनिबार २२:०६

ललितपुर–२ मा एमालेको १ हजार ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन


ललितपुर, माघ १० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले ललितपुर निर्वाचन क्षेत्र नं. २ मा १ हजार ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल र केन्द्रीय लेखा आयोग सदस्य एवं वाग्मती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ रहनु भएको छ।

समितिअन्तर्गत सहसंयोजक रामेश्वर श्रेष्ठको नेतृत्वमा आर्थिक उपसमिति गठन गरिएको छ भने सहसंयोजक समिक बडालको नेतृत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ। यस्तै, क्षेत्रीय समन्वय सचिव पवन केसीको संयोजकत्वमा स्वयंसेवक उपसमिति पनि गठन गरिएको छ।

ललितपुर क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिनु भएको छ। पार्टीले सुदृढ संगठन, परिचालन समिति र सक्रिय उपसमितिहरूमार्फत निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउने जनाएको छ।