जनता टाइम्स

१२ माघ २०८२, सोमबार १५:१२

एमाले मन्थली नगर कमिटी एक्यवद्ध, माधव ढुंगेललाई जिताउने प्रतिबद्ध


रामेछाप, माघ १२ । रामेछाप जिल्लाबाट नेकपा एमालेको तर्फबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएका माधव ढुंगेललाई जिताउन नेकपा एमाले मन्थली नगरपालिका कमिटीले पूर्ण एक्यवद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सोमबार मन्थलीमा सम्पन्न नगरपालिका कमिटीको विस्तारित बैठकले सूर्यध्वजाबाहक पार्टीका उम्मेदवार ढुंगेलको विजय सुनिश्चित गर्न पालिका कमिटीअन्तर्गतका सबै वडा तथा टोल कमिटीहरू पूर्ण रूपमा क्रियाशील भएर परिचालित हुने निर्णय गरेको हो ।

बैठकमा बोल्दै पार्टी मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरेले पार्टीको जुनसुकै तहमा रहेका भए पनि सबै नेता–कार्यकर्ताले आफ्नै बुथ केन्द्रित भएर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार बुथस्तरको अभियानलाई वडा कमिटीले समन्वय गर्नेछ ।

मन्थली नगरपालिका रामेछाप जिल्लाकै सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो । जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन् ।

बैठकमा पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले पनि वडा र मतदानस्थल केन्द्रित अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले यस पटक रामेछापमा एमाले चुनाव जित्न अनुकूल परिस्थिति रहेको उल्लेख गर्दै उम्मेदवारको हिसाबले माधव ढुंगेलजत्तिकै योग्य र सक्षम उम्मेदवार अन्य दलमा नरहेको दाबी गर्नुभयो ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय हुनु भएका ढुंगेल एमालेभित्र बौद्धिक नेताका रूपमा परिचित रहनुभएको छ । युवाको राजनीतिक तथा आर्थिक रूपान्तरणको क्षेत्रमा उहाँसँग उल्लेखनीय अनुभव रहेको बताइन्छ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षका रूपमा रहँदा उहाँले युवालाई अर्थतन्त्रसँग जोड्ने प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बैठकमा उम्मेदवार ढुंगेलले रामेछापको आर्थिक रूपान्तरणका लागि स्पष्ट खाका आफूसँग रहेको उल्लेख गर्दै त्यसलाई नीति निर्माणमार्फत कार्यान्वयन गर्न संसद्मा पुग्न चाहेको बताउनुभयो । उहाँले रामेछापलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति एवं प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश सभा सदस्य एवं प्रदेश कमिटी सदस्य माया कार्की, मन्थली नगरपालिका प्रमुख एवं प्रदेश कमिटी सदस्य लब श्रेष्ठलगायत वर्तमान तथा पूर्व प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, विभिन्न जनसंगठनका प्रमुखहरू समेतको सहभागिता रहेको थियो ।