लुम्बिनी, माघ १२। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट मात्र समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ ।
सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौँ सैनामैना महोत्सव–२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार नै स्थानीय उत्पादन भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबै सरोकारवालाको साझा ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
मेला–महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘मेला–महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन, मेला–महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी–व्यवसायीको पक्षमा सधैँ उभिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार उद्योगी–व्यवसायीको रक्षा कवच बनेर उभिएको छ, व्यवसायीको लगानी सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौँ, लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी–व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायत वक्ताहरूले नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको क्षेत्रमा समेत लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्