काठमाडौं, माघ १३ । नेकपा (एमाले) भक्तपपुरका सूर्यविनायक नगरपालिका–८ वडा कमिटीले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै संगठन सुदृढीकरण र वैचारिक तयारीमा केन्द्रित छलफल गरेको छ ।
नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार वडा कमिटीद्वारा आयोजित बैठकमा पार्टीको वैचारिक सुदृढीकरण, संगठनात्मक तयारी तथा मतदातामाझ एमालेका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विस्तृत छलफल गरिएको छ । बैठकमा स्थानीय तहमा पार्टी संगठनलाई थप सबल बनाउने र जनताको पक्षमा रहेका नीतिहरूलाई घर–घरमा पुर्याउने रणनीतिमा जोड दिइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता परिचालन, टोल तथा बुथ तहको संगठन विस्तार, मतदाता अभिमुखीकरण तथा चुनावी सन्देशलाई एकीकृत ढंगले अघि बढाउने विषयमा समेत स्पष्ट कार्ययोजना तय गरिएको छ । ‘स्थानीय स्तरमा पार्टी संगठनलाई झनै मजबुत बनाउँदै आम जनताका पक्षमा रहेका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौँ’, थापा मगरले भन्नुभयो ।
बैठकमा सूर्यविनायक–८ का पार्टी नेतृत्व, वडा तथा टोल कमिटीका पदाधिकारी, सक्रिय कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर परिचालित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साे निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पार्टी सचिव महेश बस्नेत चुनाव लड्नु भएकाे छ । सूर्यविनायक नगरपालिका भक्तपुरकाे संसदीय निर्वाचन क्षेत्र नं २ मा पर्दछ ।














प्रतिक्रिया दिनुहोस्