रामेछाप, माघ १५ । रामेछापको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा हिजोदेखि हिमपात सुरु भएको छ । यस वर्षको पहिलो हिमपातसँगै शैलुङ क्षेत्रका विभिन्न गाउँ तथा डाँडाकाँडा सेताम्मे भएका छन् । लामो समयपछि परेको हिउँले शैलुङको प्राकृतिक सौन्दर्य थप मनमोहक बनेको छ ।
स्थानीयका अनुसार शैलुङ क्षेत्रका डडुवा, गौश्वारा, खोलाखर्क, बागढुङ्गा लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । स्थानीय दावासाङ्बु शेर्पाका अनुसार हिउँ परेसँगै शैलुङको दृश्य अत्यन्त रमणीय बनेको छ । ‘यो वर्षकै पहिलो पटक हिउँ परेको हो, गाउँ वरिपरिका डाँडाहरू सबै सेताम्मे भएका छन्,’ उहाँले भन्नुभयाे ।
हिमपातले शैलुङका स्थानीय कृषकहरू पनि उत्साहित भएका छन् । किसानहरूका अनुसार हिउँले माटोको उर्वराशक्ति बढाउने, खेतबारीमा आवश्यक चिस्यान कायम राख्ने तथा बालीमा लाग्ने कीरा र रोग कम गर्ने भएकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । शेर्पाले भन्नुभयाे, ‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ, यसले आलु र तरकारी उत्पादनमा राम्रो सहयाेग गर्छ।’

शैलुङ क्षेत्रमा आलु र तरकारी मुख्य उत्पादनका रूपमा रहेका छन् । त्यस्तै उवा, गहुँ र मकै पनि यहाँकाे प्रमुख उत्पादन हाे ।
हिमपातसँगै शैलुङमा हिउँ खेल्न तथा प्राकृतिक दृश्य अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय शैलुङ काठमाडौं तथा आसपासका क्षेत्रबाट घुम्न जाने आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
स्थानीय व्यवसायीहरू पनि हिमपातका कारण पर्यटन गतिविधि बढ्ने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आशामा छन् ।













प्रतिक्रिया दिनुहोस्