जनता टाइम्स

१५ माघ २०८२, बिहीबार २०:५८

रामेछापमा एमालेको व्यापक जनपरिचालन, उम्मेदवार माधव ढुङ्गेल नेतृत्वको टोली हिमाली गाउँ गुम्देलमा 


रामेछाप, माघ १५ ।  आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिए नेकपा एमाले रामेछापले ब्यापक जनपरिचालन सुरु गरेकाे छ ।

पार्टीले आन्तरीक छलफल र मतदाता भेटघाट कार्यक्रमलाई एकै साथ अघि बढाएकाे छ । साेही क्रममा नेकपा (एमाले) खाँडादेवी गाउँपालिका–३ वडा कमिटीको विस्तारित तथा निर्वाचन केन्द्रित बैठक भिरपानीमा सम्पन्न भएको छ । बैठक वडा कमिटी अध्यक्ष दुर्गा बहादुर माझीको अध्यक्षतामा तथा वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

बैठकमा प्रदेश लेखा आयोग अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, प्रदेश कमिटी सदस्य प्रेम बहादुर तामाङ र ज्ञान कुमार श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको थियो । साथै शम्भु कुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, केशव प्रधान, जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपमहासचिव होमराज श्रेष्ठ, वडा अध्यक्ष पुष्कर कुमार कार्की लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियाे ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बैठकले सूर्य चिन्हमा अत्यधिक मतदान गराउने गरी व्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । निर्वाचन लक्षित कार्ययोजना निर्माण गर्दै दुर्गा बहादुर माझीको संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

बैठकमा रामेछाप जिल्लामा एमालेका सूर्यध्वजाबाहक उम्मेदवार माधव ढुङ्गेललाई अत्यधिक मतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैबीच प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव ढुङ्गेल नेतृत्वको टोली जिल्लाको हिमाली गाउँपालिका उमाकुण्ड पुगेको छ । टोली भुजी, गुप्तेश्वर, प्रीति, कुभुकास्थली, बाम्ती हुँदै गुम्देल पुगेको हो ।

नेकपा एमाले रामेछाप प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठका अनुसार टोली पार्टीको आन्तरिक छलफलका साथै मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेको छ ।

टोलीमा पार्टी केन्द्रीय सदस्य गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाशकुमार कार्की लगायत नेताहरू सहभागी हुनुहुन्छ । उहाँहरूले नागरिकका सल्लाह, सुझाव र गुनासो सुन्दै त्यसलाई राज्यको नीतिमा समावेश गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

उता नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको विस्तारित तथा चुनाव केन्द्रित बैठक पनि सम्पन्न भएको छ । बैठक पालिका कमिटी अध्यक्ष देउबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकमा पार्टी नेता तुल प्रसाद कंडेल, जिल्ला कमिटी उपसचिव मिलन घिसिङ, निर्वाचन प्रदेश सभा संयोजक प्रेम लामा लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकले निर्वाचन केन्द्रित कार्ययोजना तयार गर्दै संगठन परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।