जनता टाइम्स

१७ माघ २०८२, शनिबार ०८:४८

म्यानमारको अनलाइन स्क्यामिङ्ग केन्द्रमा फसेका चार नेपाली स्वदेश फिर्ता


काठमाडौं, १७ माघ । म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्रमा संलग्न चार जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ। थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई हिजो नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो।

स्वदेश फर्काइएका चार जनामध्ये एक जना महोत्तरी, एक जना नुवाकोट र दुई जना दाङ जिल्लाका रहेको सम्बन्धित निकायले जनाएको छ। उनीहरूले स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन्।

उद्धारपछि दिएको प्रारम्भिक बयानमा उनीहरूले धेरै आम्दानी हुने प्रलोभनमा परेर म्यानमार गएको बताएका छन्। थाइल्याण्डमा ‘डाटा इन्ट्री अफिसर’को रूपमा काम गर्ने भनिए पनि थाइल्याण्ड पुगेपछि जबर्जस्ती म्यानमार पुर्‍याइएको उनीहरूको भनाइ छ।

यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली युवा समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको प्रलोभनमा परेर मानव तस्करी तथा अनलाइन अपराधको जालमा फस्ने जोखिम बढ्दो रहेको देखाएको छ। सम्बन्धित निकायले विदेश रोजगारीका नाममा हुने यस्ता गतिविधिप्रति सतर्क रहन र आधिकारिक माध्यमबाहेक अन्यत्र विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।