रामेछाप, माघ १७ । नेकपा एमाले रामेछापले निर्वाचन केन्द्रित तयारीलाई तीव्र बनाउँदै पार्टीको विस्तारित बैठक आयोजना गरेको छ । पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले निर्वाचन परिचालन, प्रचार–प्रसार तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि जानकारी दिँदै जिल्ला अध्यक्ष कडरियाले निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई सक्रिय बनाउने उद्देश्यले प्रचार, परिचालन र प्रशासनिक जिम्मेवारीसहितका कमिटीहरू बनाइएको बताउनुभयो ।
‘राजनीतिक स्थायित्व र विकास आजको मुख्य एजेण्डा’ : उम्मेदवार ढुङ्गेल
बैठकमा बोल्दै उम्मेदवार माधव ढुङ्गेलले राजनीतिक स्थायित्व, शान्ति र विकास आज देशको प्रमुख एजेण्डा भएको उल्लेख गर्नुभयो । उक्त एजेण्डा बोक्ने पार्टी नेकपा एमाले भएको दाबी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको बताउनुभयो ।
एमालेले गरेका कामको अन्तिम परीक्षा निर्वाचन भएको उल्लेख गर्दै उहाँले यो परीक्षामा पार्टी उत्तीर्ण हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
ढुङ्गेलले हरेक नेपाली नागरिकलाई सक्षम बनाउने अभियानको नायक एमाले भएको बताउँदै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा उभिएकै कारण एमालेमाथि आक्रमण हुने गरेको आरोप लगाउनुभयो । ‘यी विषय उठाउँदा हुने सबै खालका आक्रमण सहन एमाले तयार छ,’ उहाँले भन्नुभयो ।

‘उम्मेदवार जिताउने अहिलेको एक मात्र एजेण्डा’ : गीता कार्की
बैठकमा केन्द्रीय सदस्य गीता कार्कीले पार्टी उम्मेदवारलाई जिताउनु नै अहिलेको एक मात्र प्रमुख एजेण्डा भएको बताउनुभयो । त्यसका लागि सिङ्गो पार्टी एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव’ : कैलाशप्रसाद ढुङ्गेल
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले फागुन २१ मा हुने निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबिचको निर्णायक चुनाव’को संज्ञा दिनुभयो ।
उहाँका अनुसार मुलुकको राजनीति अहिले दुई ध्रुवमा विभाजित भएको छ । ‘एकातर्फ देश निर्माण गर्ने शक्ति एमाले छ भने अर्कोतर्फ अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने शक्ति सक्रिय छन्,’ उहाँले भन्नुभयो, ‘मुख्य लडाइँ देश बनाउने एमाले र देश जलाउने शक्तिबिचको हो । एमालेले यो लडाइँ जित्नै पर्छ, हार्ने छुट छैन।’
उहाँले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउन एमालेको जित अनिवार्य रहेको दाबी गर्नुभयो । साथै एमाले नेतृत्वको सरकार हुँदा भएका विकास निर्माणका काम जनतामाझ पुर्याउन सके चुनाव जित्न पर्याप्त हुने बताउनुभयो ।
मतदाता उत्साहित, समय व्यवस्थापनमा ध्यान दिन आग्रह
प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले एमाले उम्मेदवारप्रति मतदाताहरू उत्साहित भएको बताउँदै त्यसलाई पार्टीले प्रभावकारी रूपमा क्यास गर्नुपर्ने धारणा राख्नुभयो । मतदाताले उम्मेदवार भेट्न चाहने भएकाले त्यसअनुसार समय व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘योजना अनुसार अघि बढे एमाले अपराजित हुन्छ’ : अध्यक्ष कडरिया
बैठकको समापन गर्दै जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले निर्वाचनमा सबै कमिटीहरू योजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘योजना अनुसार अघि बढ्ने हो भने रामेछापमा यो चुनावमा एमालेलाई कसैले पराजित गर्न सक्दैन,’ उहाँले भन्नुभयो ।
उहाँले अहिले एमाले उम्मेदवारलाई जिताउने जिम्मेवारी हरेक नेता–कार्यकर्ताको काँधमा आएको उल्लेख गर्दै त्यो जिम्मेवारी बोक्ने काँध लुलो नबनाउन आग्रह गर्नुभयो । रामेछापमा एमालेको विजयको चाहना यस वर्ष पूरा हुने उहाँको दाबी छ ।













प्रतिक्रिया दिनुहोस्