जनता टाइम्स

२० माघ २०८२, मंगलवार १३:४०

 सल्यानकाे कालीमाटी गाउँपालिकामा नेकपाको १०७ सदस्यीय निर्वाचन परिचालन समिति गठन 


सल्यान, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी कालीमाटी गाउँपालिकाले निर्वाचन तयारी तीव्र बनाएको छ। पार्टीको बैठक तथा प्रशिक्षण भेलाले १०७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

समितिको संयोजकमा रुद्रबहादुर घर्ती मगर चयन हुनुभएको छ भने सह–संयोजकमा ज्ञानबहादुर खत्री र मातृका सुवेदी रहनुभएको छ। सचिवको जिम्मेवारी वीरबहादुर बिसीलाई दिइएको छ।

पार्टी नेता शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति सल्यानका प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–संयोजक टेकबहादुर बस्नेत, केन्द्रीय सदस्य कृतिबहादुर पुन लगायतका नेताहरूले सहभागिता जनाउनुभएको थियो। भेलामा नेताहरूले चुनावी रणनीति, योजना, स्थानीय स्तरमा कार्यकर्ताको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्नुभएको थियाे । बैठकले पालिकाभर चुनावी गतिविधि व्यापक बनाउने, विगतमा गरिएका काम र पार्टीका दृष्टिकोण तथा एजेन्डा जनतासम्म प्रभावकारी रूपमा लैजाने निर्णय गरेको छ।