जनता टाइम्स

२२ माघ २०८२, बिहीबार १४:४७

गोडामा चोटपछि पहिलो पटक चितवन पुगे रवि लामिछाने, निवासमै भेटघाट गर्ने 


काठमाडौं, माघ २२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुग्नु भएको छ। चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नु भएका लामिछाने गोडामा चोट लागेपछि केही समय काठमाडौंमै आराम गरिरहनु भएको थियो।

पत्नी निकिता सहित चितवन पुग्नु भएका लामिछानेले बाहिर सार्वजनिक कार्यक्रमभन्दा पनि आफ्नै निवासमै सीमित भेटघाट गर्ने कार्यक्रम तय गर्नु भएको छ। चिकित्सकको सल्लाहअनुसार उहाँलाई तत्काल चुनावी प्रचारका लागि बाहिर निस्किन नमिल्ने बताइएको छ।

गत ५ माघमा जनकपुरमा आयोजित एक सभाका क्रममा उहाँको देब्रे गोडामा सामान्य चोट लागेको थियो। सुरुमा सामान्य देखिएको चोटपछि छालाको भित्री तहमा सङ्क्रमण फैलिँदा उहाँ अस्पताल भर्ना हुनुभएको थियो। उपचारपछि स्वास्थ्यमा क्रमशः सुधार आए पनि पूर्ण रूपमा निको नहुँदासम्म हिँडडुल र भिडभाडबाट टाढा रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

चितवन–२ मा निर्वाचनको राजनीतिक चहलपहल तीव्र भइरहेका बेला लामिछानेको स्वास्थ्य अवस्थाले उहाँको सक्रिय चुनावी अभियान केही समय प्रभावित भएको छ। यद्यपि, पार्टी स्रोतका अनुसार उहाँ चितवन पुगेपछि पार्टीका स्थानीय नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आफ्नै निवासमै भेटघाट गर्दै आवश्यक राजनीतिक छलफल अघि बढाउने तयारीमा हुनुहुन्छ।

रास्वपाले चितवन–२ लाई प्रतिष्ठाको लडाइँका रूपमा लिएको छ। सभापति स्वयं उम्मेदवार भएकाले यस क्षेत्रमा पार्टीको ध्यान केन्द्रित रहेको छ। लामिछानेको स्वास्थ्य अवस्थामा सुधार आएसँगै आगामी दिनमा चुनावी गतिविधि थप सक्रिय हुने बताइएको छ ।