काठमाडौं, माघ २२। पार्टीभित्रको असन्तुष्टि र नेतृत्व रिक्तताको अवस्थाबीच नेकपा एमालेले ओखलढुंगामा नयाँ संयोजक तोकेको छ। जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा निर्वाचनको मुखमा हर्कबोल राईलाई संयोजकको जिम्मेवारी दिएको हो।
जिल्ला कमिटी अध्यक्ष जीवी खड्कासहितका नेता–कार्यकर्ता पार्टी छाडेर नेकपा प्रवेश गरेपछि ओखलढुंगामा एमालेको संगठनात्मक नेतृत्व कमजोर बनेको थियो। यही परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले पार्टीले अनुभवी नेताका रूपमा राईलाई अगाडि सारेको हाे ।
संविधानसभा सदस्य भइसकेका राईलाई जिम्मेवारी दिइनुलाई निर्वाचनपूर्व संगठन सुदृढीकरणको प्रयासका रूपमा हेरिएको छ। पछिल्लो समय उम्मेदवारी छनोटप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरुङसहित केही नेताले पार्टी परित्याग गरेपछि एमाले ओखलढुंगामा दबाबमा थियो।
आन्तरिक विभाजनका कारण खस्किएको संगठनलाई पुनः एकताबद्ध गर्दै निर्वाचनको तयारी तीव्र पार्नु अहिलेको मुख्य चुनौती हो। यही सन्दर्भमा राईको नियुक्तिले कार्यकर्ता पंक्तिमा नयाँ सन्देश दिएकाे छ । नेतृत्व परिवर्तनसँगै पार्टीले यहाँ आफ्नो संगठनात्मक उपस्थिति बलियो बनाउने रणनीति अघि बढाएको देखिन्छ।













प्रतिक्रिया दिनुहोस्