जनता टाइम्स

२२ माघ २०८२, बिहीबार २१:५६

सामाजिक सञ्जालमा गालीगलौजको संस्कृति बन्द गर्न एमाले नेता देवेन्द्र दाहालको आह्वान


गौरादह, माघ २२ ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटी संयोजक देवेन्द्र दाहालले सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरी गरिँदै आएको गालीगलौज र निकृष्ट भाषाको प्रयोग तत्काल बन्द गर्न आह्वान गर्नुभएको छ ।

झापाको गौरादहमा नेकपा एमाले निकट युवा संघ नेपालको गौरादह नगर कमिटीद्वारा आयोजित विस्तारित युवा भेलालाई सम्बोधन गर्दै दाहालले सामाजिक सञ्जाललाई असभ्य बनाउने प्रवृत्तिले समाजलाई गलत दिशातर्फ धकेलिरहेको बताउनुभयो । उहाँले नक्कली आइडी बनाएर विरोधीलाई तल्लो स्तरका शब्द प्रयोग गरी गाली गर्ने र त्यसैलाई राजनीतिक उचाइ बनाउने संस्कृतिको विकास चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । ‘खासगरी केही नयाँ भनिएका राजनीतिक दलहरूको सुरुवात नै यस्तै असभ्य अभ्यासबाट भएको देखिन्छ,’ दाहालले भन्नुभयो, ‘यसले समाजलाई सभ्यताको साटो अराजकतातर्फ लैजाँदैछ ।’

उहाँले राजनीतिक दलहरूले यस्ता गतिविधि तुरुन्त बन्द गरी समाजलाई सभ्य र समुन्नत दिशातर्फ अघि बढाउन जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नेपालको कानुनअनुसार नक्कली काम गर्नु दण्डनीय रहेको र त्यसमा पनि गालीगलौज गर्नु गम्भीर गैरकानुनी कार्य भएको उल्लेख गर्दै यस्ता अपराधमा संलग्न व्यक्तिलाई जालसाँझी तथा गालीगलौजसम्बन्धी मुद्दा लाग्ने स्पष्ट पार्नुभयो ।

दाहालले नेकपा एमालेले जनतालाई भ्रमित पार्न नक्कली आइडीको सहारा लिनु नपर्ने बताउँदै एमाले नेतृत्वमा भएका विकास निर्माणका कामहरू नै पर्याप्त प्रमाण भएको दाबी गर्नुभयो । ‘पहिलो पटक एमालेको एकल सरकार बनेपछि आफ्नो गाउँ आफैं बनाऔँ, वृद्धभत्ता वृद्धि, दीर्घकालीन योजनालगायतका कार्यक्रम जनताले प्रत्यक्ष अनुभूति गरेका छन्,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सचिव निशा लिम्बुले युवाहरुलाई प्रविधिसँगै सत्य–तथ्य छुट्याएर ग्रहण गर्न सचेत रहन आग्रह गर्नुभयो । उहाँले सिंहदरबार, सर्वोच्च अदालतलगायतका राष्ट्रिय सम्पदा निर्माणमा नेकपा एमालेको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै युवाहरू पार्टीको पक्षमा मजबुत भएर उभिनुपर्ने बताउनुभयो ।

लिम्बुले भूकम्पले क्षतिग्रस्त राष्ट्रिय सम्पदा एमाले नेतृत्वमा पुनर्निर्माण गरिएको स्मरण गराउँदै अब जेएनजी आन्दोलनका कारण क्षति पुगेका संरचना पुनःनिर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरू दीपक कार्की, इन्द्र भण्डारी, केन्द्रीय लेखा आयोगकी सदस्य लिला कट्टेललगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम युवा संघ नेपालको गौरादह नगर कमिटी अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढी युवाहरू राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूले देश निर्माणको अभियानमा नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउँदै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूलाई केन्द्रीय सदस्य देवेन्द्र दाहाल र युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामाले स्वागत गर्नुभएको थियो ।