जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १५:५१

१० दिनको अस्पताल बसाइपछि आज प्रधानमन्त्रीको डिस्चार्ज


काठमाडौं, मंसिर २१ ।  १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो ३ ः ३० बजे डिस्चार्ज हुनुभएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि आज बिहीबार बालुवाटार फर्किनु भएको हो ।
चिकित्सकले उहाँलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उहाँलाई आजनै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उहाँलाई संक्रमणबाट जोगाउन अस्पतालबसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको थियो ।